Press Statement

मिडिया कार्यालयमा पत्रकारलाई धम्क्याउने कार्यको घोर भर्सना

07 Jun, 2018
हाम्राकुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाहीको नेतृत्वको सात जनाको समुहले हाम्राकुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
शाहीको नेतृत्वमा गएको समुहले हुलहुज्जत गर्दै हाम्राकुरा डटकमको समाचार कक्षमा कार्यरत रहेका नेपाल प्रेस युनियन तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा हाम्राकुराका कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारहरुलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएका थिए । शाहीले समाचार कक्षमा नै आएर नबिना लामालाई फोन लगाएर बोल्न दिदै त्यो समाचार तुरुन्त हटाउन फोनबाट लामाले दवाब दिएकी थिइन ।
बुधवार नै अध्यक्ष तथा सांसद लामाले हाम्राकुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई समाचार नहटाए जे पनि हुने तथा सत्ता र शक्ति आफूसंग भएको भन्दै साईबर क्राईमको मुद्दा लगाएर जाकिदिने तथा उठाउने सम्मको भन्दै फोनबाट धम्की समेत दिएकी थिइन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद लामाले समाचारको बारेमा पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा साँझको समयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा  कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिने कार्यको नेपाल प्रेस युनियन घोर भर्सना गर्दछ । समाचार कक्षमा प्रबेश गर्नु तथा  फोनबाट सम्पादकलाई जाकिदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । समाचार सम्बन्धी चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको प्रेस युनियन कडा शब्दमा भत्र्सना गर्दछ । साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकारहरुको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: +977 9851 0380 00

Comments