Press Statement
पत्रकार बाेहाेराकाे निधन पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षतिः महासंघ
28 Nov, 2016नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहोराको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । विगत ७ महिनादेखि काठमाडौंमा रहेर श्रीमतीको उपचार गराउँदै आएका पत्रकार बोहोरालाई मंसिर १० गते राजधानीको भेनस अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेको अवस्थामा सँगैको बेडमा मृत अवस्थामा भेटिएको थियो । उहाँ मुटु रोगका साथै मधुमेह र उच्चरक्तचापबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय बोहोराका दुवै मृगौला फेल भई अस्पतालमा उपचाररत श्रीमती, ७२ वर्षीया आमा र एक दाजु हुनुहुन्छ ।
बझाङको स्याडी घर भएका बोहोरा दुई दशकदेखि कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएको थियो । पश्चिम नेपाल दैनिकका प्रकाशक–सम्पादक, रेडियो पश्चिम नेपालका प्रवन्ध निर्देशक तथा न्यूज २४ का सुदूरपश्चिमाञ्चल व्यूरो प्रमुखको जिम्मेवारीसमेत वहन गर्दै आउनु भएका बोहोराले स्पेसटाइम दैनिकलगायतका पत्रपत्रिकामा काम गर्नु भएको थियो ।
सुदूरपश्चिमको पत्रकारिताका क्षेत्रमा एउटा उत्कृष्ट पहिचान बनाएका पत्रकार बोहोरा नेपाली पत्रकारिता क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य, होनहार, कुशल र उर्जावान पत्रकार गुमाएको छ । महासंघले यस घटनालाई पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षतिको रुपमा लिएको छ । उहाँको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।
स्वर्गीय बोहोराको २०७३ मंसिर १२ गते आर्यघाट स्थित विद्युतीय शब दाहगृहमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि आयोजित संक्षिप्त शोकसभामा महासंघ कञ्चनपुर शाखाका निवर्तमान अध्यक्षसमेत रहेका बोहोराको शवमा महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको झण्डा ओढाई सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक योजनामन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पाटी माओवादी–केन्द्रका प्रवक्ता पम्फा भुसाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यका साथै राजनीतिक दलका नेताहरू, पत्रकारसम्वद्ध संघसंस्थाका अध्यक्षहरू, महासंघका पदाधिकारी, केन्द्रीय सदस्यलगायत दैनिक पत्रिकाका सम्पादक, सहकर्मीहरू, आफन्तजन र ठूलो संख्यामा उपस्थित पत्रकारहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाल पत्रकार महासंघ स्वर्गीय बोहोराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामना र गहिरो समवेदना प्रकट गर्दछ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here