Press Statement

डिस होममा गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको धारणा

16 Dec, 2015

सूचना प्रविधी क्षेत्रसँग जोडिएको संस्था डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। डिस होमको टावरमा गरिएको बम आक्रमणबाट साँढे २ करोडको क्षती हुनुका साथै साँढे ५ लाख ग्राहकले पाउँदै आएको सेवा अवरुद्ध भएको डिस होमका डिजीएम कल्याण अधिकारीले जानकारी गराउनुभएको छ। भारतीय हिन्दी च्यानलहरु प्रसारण गराएकाले आक्रमण गरेको नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लव समुहका नेता खड्ग बहादुर विश्वकर्माले जिम्मेवारी लिनुभएको छ।

कुनै राजनीतिक दलको तर्फबाट केहि च्यानलहरु प्रसारण नगर्न चेतावनी दिने र प्रसारण रोकेको भन्दै सरकारले प्रसारण रोक्ने संस्थाहरुलाई कार्वाहीको धम्की दिएको पृष्ठभुमिमा बुधवार डिस होमको केन्द्रीय कार्यालयमा बम प्रहार गरिएको देखिएको छ। राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान हुनुपर्नेमा त्यसतर्फ नलागि व्यवसायी र त्यसमा काम गर्ने कर्मचारीलाई सरकार र राजनीतिक दल विशेषले तारो बनाउने कार्यको नेपाल प्रेस युनियन सदैव विपक्षमा छ।

एकातिर सूचना सञ्चार र प्रविधी मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्री शेरधन राईले सबै प्रसारकहरुलाई प्रसारण खुल्ला गर्न निर्देशन दिदै अन्यथा कार्वाहीको चेतावनी दिने तर सुरक्षा नदिने अर्कातर्फ सरकारी आदेश मान्दा आक्रमण र बम प्रहार हुनुले व्यवसायिक वातावरण मात्र खल्वलिएको छैन नागरिकको सुसुचित हुने अधिकार पनि खोसिएको छ। बम आक्रमण गरिएपछिको २ घण्टा ५ लाख ग्राहकले डीसहोममा केहि पनि हेर्न नपाएको अवस्था छ भने त्यसयता गरिएको आपतकालिन व्यवस्थापछि ११६ च्यानल मध्ये ६० वटा मात्र डीसहोम मार्फत पुन पठाउन सकिएको कम्पनीको भनाइ रहेको छ।

नेपाल प्रेस युनियन सूचना तथा सञ्चार क्षेत्रसँग जोडिएका कुनै पनि संस्थामाथि कुनै पनि बहानामा हुने कुनै पनि आक्रमणको विरोध गर्दछ। राजनीतिक प्रकृतिको विषयमा गैरराजनीतिक संस्थाहरुमा गरिएको यस किसिमका आक्रमणको निन्दा गर्छ। साथै उचित व्यवसायिक वातावरण बनाउँदै नागरिकको सुसुचित हुने अधिकारको सम्मान गर्न सम्वन्धित सबै पक्षसँग युनियन जोडदार माग गर्दछ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments