Press Statement

नेपालः पत्रकारलाई ज्यान मार्ने धम्की दिएकाे र खिचेको भिडियो मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण

13 Dec, 2022

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा सप्तरी कार्यक्षेत्र बनाएर कान्तिपुर दैनिकमा कार्यरत रहेका पत्रकार अवधेशकुमार झालाई प्रकाशित समाचारको विषयलाई लिएर केही व्यक्तिहरूले समाजिक सञ्जालमा तस्बिर नै राखेर ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सप्तरी शाखाका अनुसार २०७९ मंसिर १७ गते ‘तोकआदेशमा कर्मचारी भर्ना’ शीर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर पत्रकार झालाई केही व्यक्तिले भौतिक कारबाही हुने जानकारी गराएका थिए । तत्पश्चात नसरुल राजा र मो. सजाद नामको फेसबुक आइडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाइ सार्वजनिक गरिएको थियो । यस विषयमा मंसिर २० गते नै सप्तरीको पत्रकार टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएको एक हप्ता बितसक्दासमेत अपराधी पत्ता लागउन तदारुकता नदेखाउनु दुःखद् र निन्दनीय विषय हो ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसविरुद्ध कानुनी उपचार जानसकिने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यस्ता घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ पत्रकारलाई त्रसिद र आतंकित बनाउने कार्यमा संलग्नलाई तत्काल् कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ ।

यसैबीच न्यूज २४ टेलिभिजनको सुदूरपश्चिम ब्यूरो कार्यालयमा कार्यरत पत्रकार खेम ढुंगानाको सञ्चारका साधन नियन्त्रणमा लिई चम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाहीले खिचेका भिडियो मेटाएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । प्रमुख शाहीले सरकारी स्रोत साधनको दुरुपयोग गरिरहेको सूचनाका आधारमा त्यसको भिडियो बनाएका पत्रकार ढुंगानालाई होटलमा बन्धक बनाइ सञ्चार साधन कब्जामा लिएर खिचेको भिडियो मेटाएको महासंघ कैलाली शाखाले जनाएको छ ।

सार्वजनिक निकायको जिम्मेवार पदमा बहाल व्यक्तिबाट भएको यो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासंघ ठहर छ । महासंघ प्रमुख शाहीको यस्तो हर्कतप्रति खेद व्यक्त गर्दै प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गरी यस्ता कार्य नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments