Press Statement

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

23 May, 2016

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै आगामी बजेटमै यसको सम्वोधन हुनुपर्ने माग गरेको छ ।

महासंघले बुझाएको ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन सिफारिस कार्यान्वयनका निम्ति मन्त्रिपरिषद्बाट भएको निर्णयको स्वागत गर्दै यसलाई तत्काल लागू गर्न, पत्रकारको दक्षता अभिवृद्धिका लागि स्वतन्त्र, स्वायत्त र प्राज्ञिक स्तरबाट व्यावसायिकरूपमा सञ्चालन हुने गरी राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र आमसञ्चार संग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरी यसलाई प्रान्तस्तरसम्म विस्तार गर्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

त्यसैगरी स्वतन्त्र, स्वायत्त राष्ट्रिय मिडिया आयोग वा प्राधिकरणको स्थापना गरी यसको प्रभावकारी सञ्चालनको व्यवस्था मिलाउन, निजामती अस्पताल, अन्य सरकारी अस्पताल, शिक्षण अस्पताल र स्वास्थ्य संस्थाहरूबाट पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न, अशक्त एवं जेष्ठ पत्रकार सम्मान वृत्ति कोषको घोषणा र आवश्यक बजेट व्यवस्था गर्न माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

यस्तै ध्यानाकर्षणपत्रमा हत्या र बेपत्ता पत्रकारको सन्दर्भमा यथार्थ छानवीन, दोषीमाथि कारवाही र पीडितलाई राहतको सिफारिसका लागि अधिकारसम्पन्न आयोग गठनका साथै द्वन्द्व पीडित पत्रकार कल्याण कोषको कार्यान्वयन र नेपाली मिडियालाई सेवा उद्योगको रूपमा मान्यता र सुविधा प्रदान गर्न एवं प्राकृतिक विपत्ति, नाकाबन्दी र आमहड्ताल जस्ता कारणले उत्पन्न संकटलाई संवोधन गर्न रोयल्टी, नवीकरण शुल्क लगायतका कर छुटका साथै अन्य सुविधा र सहुलियतको व्यवस्था मिलाउन, लोककल्याणकारी विज्ञापनको अंक वृद्धि गर्न, पत्रकारद्वारा सञ्चालित, साना लगानी र स्थानीय तहका सञ्चारमाध्यमको संरक्षणको लागि विशेष ध्यान दिन एवं सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू गर्न उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री राईले नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएका ११ वटै बुँदामा मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । उहाँले महासंघले उठाएका विषयहरू आगामी बजेटमा देखिने गरी कार्यान्वयनमा ल्याइने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

महासंघले आजै ती विषयमा अर्थमन्त्री विष्णु पौडेलको पनि ध्यानाकर्षण गराएको छ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments