Press Statement
नेपाल ः नेपाल प्रेस युनियनको २९ औँ बार्षिकोत्सवको शुभकामना
26 May, 2020मुलुकभरका लोकतन्त्रवादी सञ्चारकर्मीहरुको एक मात्र साझा संस्था नेपाल प्रेस युनियन यही जेठ १३ गते आफ्नो स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्यअनुसार लोकतन्त्रको सुदृढिकरणमा योगदान पुर्याउँदै मुलुकको सञ्चार जगतलाई अझ समृद्ध, सबल र श्रमजीवी पत्रकारका हकहितमा ऐतिहासिक र सिर्जनात्मक कार्य गर्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र युनियनको इतिहासप्रति हामी गर्व गर्दछौं । साथै पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा प्रेस स्वतन्त्रताका पक्षमा संघर्ष गर्नुहुने प्रेस स्वतन्त्रता सेनानीप्रति उच्च सम्मान व्यक्त गर्दछौ । स्थापनाकालदेखि नै युनियनले श्रमजिवी पत्रकारको हकहितमा र पेशागत सुरक्षाका विषयमा जोडदार आवाज उठाउँदै आएको छ ।
युनियनको उत्पत्ति नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । नेपालका सञ्चारकर्मीलाई संगठित बनाएर श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो । विसं २०४८ जेठ १३ गते आजैका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित भएर अगाडि बढ्ने दृढ धारणासहितको प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । स्थापनाकालदेखि यताका अनेक उतार चढावमा युनियनले आफ्नो उद्देश्यअनुरुप संघर्ष गर्दै इतिहासको साक्षी बन्दै आएको छ ।
युनियनको आठौँ महाधिवेशन पोखरामा २०७१ साल भदौ २१ र २२ गते सम्पन्न भएयता नवौँ महाधिवेशनका लागि विभिन्न मिति तोकिए पनि विविध बाध्यतावश हालसम्म हुन सकेको छैन् । पछिल्लोे पटक नवौँ महाधिवेशनका लागि २०७६ साल चैत २१ र २२ गते नेपालगञ्जमा हुने मिति तोकी आवश्यक तयारी गरेपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्थगित गर्नुपरेको सर्वविदितै छ । तसर्थ वर्तमान संकट सामान्य हुनेबित्तिकै महाधिवेशनमा जुट्नुपर्ने आवश्यकता छ ।
यतिखेर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । कारोना संक्रमणको जेखिम बढ्दै गएपछि गत चैत ११ देखि नेपाल पनि लकडाउनको अवस्थामा छ । बजार, व्यवसाय, नागरिकको दैनिकी ठप्प भएसँगै कतिपय सञ्चामाध्यमका प्रकाशन र प्रशारण नै बन्द भएका छन । जेनतेन सञ्चालित अधिकांश सञ्चारमाध्यम पनि निकै सकस र संकटको अवस्थामा रहेको हामीले महशुष गरेका छौँ । मोफसल र दूरदराजमा रहेर आमजनतालाई सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो र अनलाइन मात्र होइन सहरबजार र राजधानीका ठूला तथा साना सबै सञ्चारप्रतिष्ठानले पनि लकडाउनका कारण ठूलो चुनौतिसँग सामना गर्नुपरेको सर्वविदितै छ ।
संकटको यस्तो घडीमा पनि आफ्नो र परिवारकै ज्यान जोखिममा राखेर सञ्चारकर्मीहरु अग्रभागमा खटिएका छन । कोरोनोका जोखिम मोलेर अग्रभागमा खटिएका सञ्चारकर्मीहरुप्रति नेपाल प्रेस युनियन उच्च सम्मान व्यक्त गर्दछ । विडम्बना यस्तो विषम परिस्थितिमा पनि १०औँ वर्षदेखि संचालित र मुनाफा आर्जन गर्दै आएका केही ठूला सञ्चार प्रतिष्ठानले समेत कोरोनाको कारण देखाउँदै त्यहाँ कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने विषय दुःखद पक्ष हो । यस सम्बन्धमा प्रेस युनियन श्रमजीवी पत्रकार र कर्मचारीको यस संवेदनशीलताप्रति जिम्मेवार भई प्रस्तुत हुन सम्बन्धित सञ्चार प्रतिष्ठानहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै कोरोना संकटको यस अवस्थामा तत्काल सञ्चार क्षेत्र र सञ्चारकर्मीका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग जोडदार माग समेत गर्दछौँ ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेपनि सरकारले विभिन्न विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई नियमनका नाममा नियन्त्रण गर्ने मनशाय राखेकोप्रति हामी सजग छौँ । यसमा हाम्रो निरन्तर खबरदारी रहिरहनेछ । लोकतन्त्रको रक्षा र सुदृढिकरणका लागि स्वतन्त्र, निश्पक्ष र सबल सञ्चार क्षेत्रको अपरिहार्यता हुन्छ । प्रेस युनियनको उद्देश्य नै यही भएकाले यसप्रति हामी स्थापनाकालदेखि नै सजग र संघर्षशील छौँ । अन्त्यमा स्थापना दिवसको यस अवसरले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा मिल्ने अपेक्षा गर्दछु ।
बद्री सिग्देल
(अध्यक्ष)
Written By
Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download