Press Statement

नेपाल ः नेपाल प्रेस युनियनको २९ औँ बार्षिकोत्सवको शुभकामना

26 May, 2020

मुलुकभरका लोकतन्त्रवादी सञ्चारकर्मीहरुको एक मात्र साझा संस्था नेपाल प्रेस युनियन यही जेठ १३ गते आफ्नो स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्यअनुसार लोकतन्त्रको सुदृढिकरणमा योगदान पुर्याउँदै मुलुकको सञ्चार जगतलाई अझ समृद्ध, सबल र श्रमजीवी पत्रकारका हकहितमा ऐतिहासिक र सिर्जनात्मक कार्य गर्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र युनियनको इतिहासप्रति हामी गर्व गर्दछौं । साथै पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा प्रेस स्वतन्त्रताका पक्षमा संघर्ष गर्नुहुने प्रेस स्वतन्त्रता सेनानीप्रति उच्च सम्मान व्यक्त गर्दछौ । स्थापनाकालदेखि नै युनियनले श्रमजिवी पत्रकारको हकहितमा र पेशागत सुरक्षाका विषयमा जोडदार आवाज उठाउँदै आएको छ ।

युनियनको उत्पत्ति नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । नेपालका सञ्चारकर्मीलाई संगठित बनाएर श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो । विसं २०४८ जेठ १३ गते आजैका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित भएर अगाडि बढ्ने दृढ धारणासहितको प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । स्थापनाकालदेखि यताका अनेक उतार चढावमा युनियनले आफ्नो उद्देश्यअनुरुप संघर्ष गर्दै इतिहासको साक्षी बन्दै आएको छ ।

युनियनको आठौँ महाधिवेशन पोखरामा २०७१ साल भदौ २१ र २२ गते सम्पन्न भएयता नवौँ महाधिवेशनका लागि विभिन्न मिति तोकिए पनि विविध बाध्यतावश हालसम्म हुन सकेको छैन् । पछिल्लोे पटक नवौँ महाधिवेशनका लागि २०७६ साल चैत २१ र २२ गते नेपालगञ्जमा हुने मिति तोकी आवश्यक तयारी गरेपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्थगित गर्नुपरेको सर्वविदितै छ । तसर्थ वर्तमान संकट सामान्य हुनेबित्तिकै महाधिवेशनमा जुट्नुपर्ने आवश्यकता छ ।

यतिखेर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । कारोना संक्रमणको जेखिम बढ्दै गएपछि गत चैत ११ देखि नेपाल पनि लकडाउनको अवस्थामा छ । बजार, व्यवसाय, नागरिकको दैनिकी ठप्प भएसँगै कतिपय सञ्चामाध्यमका प्रकाशन र प्रशारण नै बन्द भएका छन । जेनतेन सञ्चालित अधिकांश सञ्चारमाध्यम पनि निकै सकस र संकटको अवस्थामा रहेको हामीले महशुष गरेका छौँ । मोफसल र दूरदराजमा रहेर आमजनतालाई सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो र अनलाइन मात्र होइन सहरबजार र राजधानीका ठूला तथा साना सबै सञ्चारप्रतिष्ठानले पनि लकडाउनका कारण ठूलो चुनौतिसँग सामना गर्नुपरेको सर्वविदितै छ ।

संकटको यस्तो घडीमा पनि आफ्नो र परिवारकै ज्यान जोखिममा राखेर सञ्चारकर्मीहरु अग्रभागमा खटिएका छन । कोरोनोका जोखिम मोलेर अग्रभागमा खटिएका सञ्चारकर्मीहरुप्रति नेपाल प्रेस युनियन उच्च सम्मान व्यक्त गर्दछ । विडम्बना यस्तो विषम परिस्थितिमा पनि १०औँ वर्षदेखि संचालित र मुनाफा आर्जन गर्दै आएका केही ठूला सञ्चार प्रतिष्ठानले समेत कोरोनाको कारण देखाउँदै त्यहाँ कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने विषय दुःखद पक्ष हो । यस सम्बन्धमा प्रेस युनियन श्रमजीवी पत्रकार र कर्मचारीको यस संवेदनशीलताप्रति जिम्मेवार भई प्रस्तुत हुन सम्बन्धित सञ्चार प्रतिष्ठानहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै कोरोना संकटको यस अवस्थामा तत्काल सञ्चार क्षेत्र र सञ्चारकर्मीका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग जोडदार माग समेत गर्दछौँ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको  ग्यारेन्टी  गरेपनि सरकारले विभिन्न विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई नियमनका नाममा नियन्त्रण गर्ने मनशाय राखेकोप्रति हामी सजग छौँ । यसमा हाम्रो निरन्तर खबरदारी रहिरहनेछ । लोकतन्त्रको रक्षा र सुदृढिकरणका लागि स्वतन्त्र, निश्पक्ष र सबल सञ्चार क्षेत्रको अपरिहार्यता हुन्छ । प्रेस युनियनको उद्देश्य नै यही भएकाले यसप्रति हामी स्थापनाकालदेखि नै सजग र संघर्षशील छौँ । अन्त्यमा स्थापना दिवसको यस अवसरले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा मिल्ने अपेक्षा गर्दछु ।

बद्री सिग्देल
(अध्यक्ष)

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments