Press Statement

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु

10 Aug, 2018

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको यही साउन २३ र २४ गते बुद्ध जन्मभूमि लुम्बिनीमा महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

बैठकका निर्णयहरु

१.प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाहरुका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरियो ।

२. मिडियासम्बन्धी कानूनहरुलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री  कानून निर्माणको सुनिश्चितता गर्न केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसँग जोडदार माग गरिएको छ । संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चारमाध्यमका लागि विशेष संरक्षण कानून निर्माणमा महासंघ ध्यानाकर्षण गराउँछ ।

३. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागु गर्न माग गरिएको छ ।

४. न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्न महासंघ जोडदार माग गर्दछ ।

५. सरकारी सञ्चार माध्यमसहित विभिन्न सञ्चार माध्यमबाट निष्कासित÷नवीकरण नगरिएका पत्रकारहरुलाई तत्काल पुनर्वहालीको लागि दबावमूलक ढंगले पहल गर्ने निर्णय गरिएको छ ।

६. मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन माग गरिएको छ ।

७. विगत एक वर्ष भित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९  घटनामा ९० पत्रकार तथा सञ्चार संस्थाहरु पीडित भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका घटनाहरुलाई न्यूनिकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारवाही गर्न माग गरिएको छ ।

८. पत्रकारहरुका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट सहित पत्रकारको स्वास्थ्य बिमा र सबै खाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा तत्काल लागु गर्न बैठक सरकारसँग माग गर्दछ ।

९. आगामी भदौ १ देखि मंसिर १५ सम्म नेपाल पत्रकार महासंघको शाखाहरुको साधारण सभा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

१०. पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

११. ज्येष्ठ तथा अपांगता भएका पत्रकारहरुको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने निर्णय गरिएको छ ।

१२. साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ ।

१३. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुद्ध जन्मभूमी लुम्बिनीमा आयोजना गर्न संयोजन तथा सहयोग गर्ने नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला शाखाका साथै प्रदेश नं ५ समिति लगायत सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments