Nepal

पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति महासंघको विरोध

04 Nov, 2015

‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रसारित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे आचारसंहिता उल्लंघनको विषय भए प्रेस काउन्सिल र कानुन उल्लंघनका अन्य विषय भए न्यायिक उपचारका विकल्प हुँदाहुँदै यसरी पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ पत्रकारको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने यस्तो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानवीनको माग गर्दछ । र, संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षितरुपमा पत्रकारिताको अभ्यास गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

यसैगरी आन्दोलनरत पक्षले पर्सामा कात्तिक १७ गते प्रहरीलाई लक्षित गरी प्रहार गरिएको प्रट्रोल बम आक्रमणबाट समाचार संकलन गरिरहेका नेपालवाणी साप्ताहिकका पत्रकार विद्यार्थी गिरी र अर्का पत्रकार भरत नेपाल घाइते भएकोमा महासंघ दुःख व्यक्त गर्दछ । साथै, महासंघ तराइ मधेश क्षेत्रमा पत्रकारिता र पत्रकारको सुरक्षा र स्वतन्त्रता अत्यन्तै गम्भीर अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै आन्दोलनरत पक्ष र सुरक्षाकर्मी दुवैलाई पत्रकारको भौतिक सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन ध्यानाकर्षण गराउँदछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments