Press Statement

पत्रकार पराजुलीको निधनको खबरले महासंघ स्तब्ध

13 Sep, 2023
मिति :२०८०।०५।२६
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका सदस्य अग्रज पत्रकार राजेन्द्र पराजुलीको उपचारको क्रममा ५९ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । ज्वरो र निमोनियाबाट थलिएका पत्रकार पराजुलीलाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएकोमा उपचारत अवस्थामै आज बिहान निधन भएको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका पराजुलीले कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र, अभियान दैनिक, आर्थिक दैनिक, नागरिक दैनिकलगायतमा काम गर्नुभएको थियो । उहाँले बाहृखरी, देखापढी, फरकधार अनलाइनसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा जिम्मेवार तहमा रहेरसमेत काम गर्नुभएको थियो ।
पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय रहेका पत्रकार पराजुलीको ‘कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अघोरी, अनायिका, जाडोको भोक, सपनामा माक्र्स, विकल्प यात्रा’ लगायतका साहित्यिक कृति प्रकाशित भएका छन् । उहाँको पछिल्लो समय ‘जन्तरमन्तर’ कथासंग्रह प्रकाशनमा आएको थियो ।
उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ भने साहित्य क्षेत्रले एक कुशल साहित्यकार गुमाएको छ । स्वर्गीय पराजुलीका श्रीमती, एक छोरा र एक छोरीे हुनुहुन्छ ।
महासंघ स्वर्गीय पत्रकार पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
रोसन पुरी
महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments