Press Statement

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि महासंघको अनलाईन डाटावेस सिस्टम

07 Apr, 2017

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले आज एक कार्यक्रमबीच अनलाईन डाटावेस सिस्टम सार्वजनिक गरेको छ । ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले सोको सार्वजनिक गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघले पत्रकारहरुमाथि हुने आक्रमण, हिंसा, दुव्र्यवहार, धम्की, पेशागत असुरक्षा, काममा अवरोध तथा सञ्चार संस्थाहरुमाथि हुने आक्रमण, वितरणमा अवरोध, आदि जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरुलाई अभिलेखिकरण र त्यसबाट उन्मुक्ति तथा उपचारको पहल गर्दै आएको छ । महासंघले यस्ता घटनाहरुको अभिलेखिकरणका सन्दर्भमा वि.सं. २०७१ मा सबै सरोकारवालाहरुको सहभागीतामा मानदण्ड तयार गरी सोही अनुसार अभिलेखिकरण गर्दै आइरहेको छ । त्यसलाई अझ परिमार्जन गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गरी महासंघका सदस्य, सम्पूर्ण सरोकारवाला तथा आम मानिसलाई सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखिकरण तथा सूचना सम्प्रेषणका लागि अनलाईन डाटाबेस तयार गरेको हो ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मा. मोहना अन्सारीले पछाडि पारिएका व्यक्तिहरुको आवाज बाहिर ल्याउँदा पत्रकारहरु जोखिममा पर्ने सम्भावन बढी हुनसक्ने भएकाले यसमा ठूलो चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रिय मानव अधिकार आयोग पत्रकारको सुरक्षा र दण्डहिनताको अन्त्य गर्न निकै संवेदनशील भएर लागिरहेको छ र निरन्तर निगरानी गरिरहेको छ ।” साथै उहाँले पछिल्लो समय मानव अधिकार आयोगमा उपलब्ध हुने व्यक्तिगत घटनाहरुको संख्या घट्दै गएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको बताउँदै यसका लागि महासंघले निरन्तर काम गरिरहेको बताउनु भयो । उहाँले नेपालमा पत्रकारहरुमाथि हुने आक्रमण तथा धम्कीका घटनाहरुमा कमी आए पनि अझै अवस्था सन्तोषजनक नरहेको जनाउनु भयो । दण्डहिनता अझै बढिरहेको बताउँदै त्यसका कारण सेल्फ सेन्सरसिप बढेको उहाँले बताउनुभयो । जतिबेला आन्दोलन हुन्छन, त्यतिबेला प्रेस स्वतन्त्रता हननका घटना बढ्ने गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “जतिबेला मिडियाले बढी भूमिका खेल्नुपर्नेहुन्छ, त्यहीबेला मिडिया माथिको आक्रमण बढ्ने गरेको छ । अनि सेल्फ सेन्सरसिप ह्वात्तै बढ्ने गरेको छ ।”

त्यसैगरी युरोपियन युनियनका हेड अफ कोअपरेशन एन्ड्रियस रोइटगरले राजनीतिक दल, सुरक्षा, सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज लगायतका सबै पक्षहरुको सहकार्यले मात्र पत्रकारहरुको सुरक्षा सुनिश्चित हुन सक्ने र यसले आपसी सद्भाव र सहकार्यलाई पनि बढाउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघले युरोपियन युनियनको सहयोग र इन्टरनेशनल अलर्टको सहकार्यमा सञ्चालन गरिरहेको अभिव्यक्ति स्वतन्त्रता : नेपालमा मिडियाको अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन कार्यक्रम अन्तर्गत यो डाटाबेस निर्माण गरिएको थियो । यसमा पत्रकार महासंघको केन्द्रीय सचिवालयका साथै महासंघका जिल्ला शाखा र महासंघका साधारण सदस्यले समेत देशभर भएका घटनालाई राख्न सक्नेछन् । उच्च प्रविधि प्रयोग गरी निर्माण गरिएको यो डाटावेशले प्रेस स्वतन्त्रता हनन्का घटनालाई अनुगमन गर्न, विश्लेषण गर्न र त्यसलाई न्यूनिकरणका लागि महत्वपूर्ण काम गर्ने आशा गरिएको छ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments