Nepal

श्रमजीवी पत्रकार र मिडिया सन्दर्भमा विभिन्न निर्णयहरू गर्दै महासंघको बैठक नवलपरासीको अमल्टारीमा सम्पन्न

13 Dec, 2015

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा हिजो २०७२ मंसिर २६ गते नवलपरासीको अमल्टारीमा सम्पन्न भयो । वैठकका मुख्य निर्णयहरु देहाबमोजिम छन्—

१. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा

(क) नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेशमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई दृष्टिगत गरी  ‘प्रेस स्वतन्त्रताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यावसायिक पत्रकारिता’ विशेष अभियान सञ्चालन गर्ने । यस अन्तर्गत प्रशिक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिसन सञ्चालनका साथै आचारसंहिता र जिम्मेवार पत्रकारितासम्बन्धी विषयवस्तुलाई केन्द्रित गरिनेछ ।

(ख) सञ्चारकर्मी र सञ्चारसंस्थालाई राहत र पुनस्र्थापनाका लागि राज्यका तर्फबाट विशेष कार्यक्रम ल्याउन सरकारलाई दवाव सिर्जना गर्ने । प्रेस काउन्सिल र सूचना विभागलगायतका निकायबाट सञ्चार उपकरण खरीद, लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी, वर्गीकरणमा सहुलियत, सार्वजनिक हितसम्बन्धी सन्देशसहितका लागि व्यवस्था मिलाउनका लागि थप पहलकदमी लिने ।

२. महासंघको संगठन सन्दर्भमा

(क) महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरुको साधारणसभा २०७२ माघ मसान्तसम्म सम्पन्न गरिसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गर्ने ।

(ख) महासंघको नयाँ सदस्यता तथा नवीकरणका लागि २०७२ माघ मसान्तभित्र केन्द्रमा विवरण पठाइसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गर्ने । नयाँ सदस्यता सिफारिस तथा नवीकरण गर्दा पारदर्शिता, शुद्ध्रीकरण र निष्पक्षता अपनाउने । सवैको जानकारीका लागि सार्वजनिक सूचना र विवाद भएको अवस्थामा पत्रकारबीचको सार्वजनिक सुनुवाई अनिवार्य गर्ने गरी निर्देशिका जारी गर्ने ।

(ग) नयाँ संविधान जारी भैसकेको सन्दर्भलाई समेत मध्यनजर राखी राज्यका प्रादेशिक ढाँचासँग मेल खानेगरी महासंघको नयाँ विधान जारी गर्न आगामी केन्द्रीय साधारण सभामा प्रस्तुत गर्न विधान मस्यौदा समिति गठन गर्ने । सो समितिले तत्कालै राय सुझाव संकलन र मस्योदाको कार्य सुरु गर्ने ।

(घ) पत्रकार दुर्घटना बीमा प्रारम्भ हुनु खुशीको विषय हो, यसलाई अभियानकै रुपमा अघि बढाई सहभागिता व्यापक बनाउने ।

(ङ) द्वन्द्वपीडित पत्रकार कोष सञ्चालन र स्वास्थ्य बीमा वा सहुलियतका लागि पहल गर्ने ।

३. श्रमजीवी पत्रकारका सन्दर्भमा

(क) भूकम्प, तराई मधेश आन्दोलन र नाकाबन्दीको बहानामा कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकार निश्कासन गर्ने, नवीकरण नगर्ने, सुविधा कटौती गर्ने, समयमै पारिश्रमिक नदिने जस्ता कार्य गरेकोमा आपत्ती जनाउँदै यस्ता कार्य नगर्न सम्बद्ध सवैमा अपील गर्दै वैठकले मिडियामा देखिएको संकटको मिलेरै सामना गर्न आग्रह गरेको छ ।

(ख) महासंघको पहलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक लागू गराउन दवावका कार्यक्रम सञ्चालन गर्ने । साथै, समग्रतामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र परिणाममुखी बनाउन थप कार्यक्रम सञ्चालन गर्ने ।

(ग) श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारलाई थप दवाव दिने र व्यवस्थापिका संसदको विकास समिति र श्रम समितिको निर्देशन पालना नभएकोमा समितिहरुको ध्यानाकर्षण गराउने ।

(घ) श्रमजीवी पत्रकार ऐनको उल्लंघन भएको कारण मर्कामा परेको कारण कानुनी उपचार खोज्न चाहने कुनै पनि श्रमजीवी पत्रकारलाई कानुनी डेस्कमार्फत कानुनी सेवा प्रदान गर्ने निर्णयलाई निरन्तरता दिइने छ ।

४. मिडियाको प्रवद्र्धन र व्यावसायिक विकास सन्दर्भमा

(क) अघोषित नाकाबन्दी, तराई/मधेस आन्दोलनबाट सृजित अवस्थालाई दृष्टिगत गरी सञ्चारकर्मी र सञ्चार गृहलाई सहजरुपमा इन्धन, कागज, मसी, आवतजावतका लागि थप पहल लिने । भूकम्प र आन्दोलनबाट प्रभावित सञ्चारगृहलाई सहुलियतको व्यवस्था मिलाउने पहल लिने । भूकम्प, आन्दोलनका कारण क्षति पुगेका सञ्चारगृहलाई सहुलियतमा ऋण, ती समयमा प्रकाशन हुन नसकेका पत्रपत्रिकाको वर्गीकरण बेला सहुलियतका लागि प्रेस काउन्सिलसँग परामर्श गरी केही नीति तय गर्न पहल लिने ।

(ख) साना लगानीमा सञ्चालित छापा माध्यमलाई सम्बर्धन र विकास गर्नका लागि समानुपातिक विज्ञापन वितरणका लागि पहल लिइने छ । साना मिडियाले खेप्नु परेका समस्याबारे यसअघिका निर्णयहरुलाई कार्यान्वयनका लागि पहलकदमीलाई निरन्तरता दिने ।

५. पत्रकारको दक्षता अभिवृद्धि सन्दर्भमा

(क) राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना तत्काल गर्न सरकारलाई आग्रह गर्ने । (ख) पत्रकारको दक्षता अभिवृद्धिका लागि विषयगत विधा र जिल्ला तहमा पनि तालिमको व्यवस्था गरिने छ ।

६. बृत्तिविकास तथा पुरस्कार सम्बन्धमा

क) प्राकृतिक विपती तथा आपतकालीन घटनामा उद्धार, राहत र पुनस्र्थापनाका लागि रु. २५ लाखको विपत, उद्धार तथा राहत कोष स्थापना गर्ने ।

ख) लामो समयसम्म पत्रकारिताको माध्यमबाट राष्ट्रको सेवा गरेका वरिष्ठ पत्रकारहरू जीवनको उत्तराद्र्धमा आएर जीवनयापन र स्वास्थ्य उपचारको समस्याले पिरोलिएर कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको विडम्बनापूर्ण अवस्थालाई अन्त्य गर्न सरकारलाई यस अघि पटक पटक ध्यानाकर्षण गराएकोमा हालसम्म सुनुवाई भएको छैन । यस विषयमा सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै महासंघको आफ्नै श्रोतमा नेपाली पत्रकारिताको क्षेत्रमा ३० वर्ष भन्दा बढी योगदान र ६० वर्ष उमेर पूरा गर्नु भएका अग्रज पत्रकारहरूको सम्मानमा वार्षिक रु ६ हजार प्रदान गर्ने गरी वरिष्ठ पत्रकार सम्मान वृत्ति कार्यक्रमलाई यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउनेछ।

ग)  बिकट  र  दुर्गम कर्णालीमा रहेर पत्रकारिताका माध्यमबाट सक्रिय योगदान गर्नु भएकी नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गौरी कठायतको सम्झनामा रु. १,५०,०००।– (एक लाख पचास हजार) राशीको गौरी कठायत पत्रकारिता पुरस्कार अक्षयकोषको स्थापना गर्ने ।

नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन–२०७२ को अमलटारी घोषणापत्र

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेशका २२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा २०७२ मंसिर २६ गते सम्पन्न तराई–मधेश मिडिया सम्मेलन जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता र सरोकार प्रकट गर्दै देहायको घोषणापत्र जारी गर्दछ ।

१) नेपाली जनताको लामो संघर्ष र बलिदानको परिणामस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुनु ऐतिहासिक उपलब्धी हो । नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता परिवर्तनका मूलभूत एजेण्डाहरू संस्थागत गरेको छ । हामी यी उपलब्धीलाई संस्थागत गर्दै तराइ मधेशमा जारी आन्दोलन र अन्य असन्तुष्ट पक्षले उठाएका जायज विषयहरूलाई समेटेर संविधान संशोधन गर्दै यसको स्वीकार्यतालाई अझ व्यापक बनाउन आवश्यक छ भन्ने मान्यता राख्दछौं ।

२) लामो समयदेखि जारी मधेश आन्दोलन र सीमा नाकामा भइरहेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भएको छ । देशको अर्थतन्त्र चौपट बनेको छ । पत्रकारहरू असुरक्षित हुनुपरेको छ भने पत्रकारिता स्वनियन्त्रण (self-censorship) को शिकार बनेको छ । मिडिया उद्योग धराशयी बन्दै गएको छ । मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चाँडो अन्त्यका लागि गम्भीर बन्न हामी सम्बन्धित सवै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

३) विद्यमान राजनीतिक समस्याको समाधान राजनीतिक तहबाटै खोजिनुपर्दछ र आन्तरिक समस्याको समाधान आपसी संवादबाटै निकालिनु पर्दछ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । हामी विद्यमान समस्याको निकास यथाशक्य छिटोभन्दा छिटो निकाल्न सम्बद्ध सबै पक्षलाई हार्दिक आग्रह गर्दछौं । यो सम्मेलन कुनै पनि पक्षबाट हुने बल प्रयोग र हिंसाको विरोध गर्दछ र कुनै पनि बाह्य हस्तक्षेपप्रति आपत्ती प्रकट गर्दछ ।

४) मुलुकको यो जटिल स्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र एकताप्रति मिडिया जगत् अझ बढी संवेदनशील हुनुपर्दछ । जस्तोसुकै संकटको घडीमा पनि रत्तिभर विचलित नभई पत्रकार आचारसंहिताको जिम्मेवारीपूर्वक पालना गर्न र स्वतन्त्र पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न यो सम्मेलन सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमहरूलाई अपील गर्दछ ।

५) पत्रकार र सञ्चारजगतमाथि लक्षित गरेर भएका आक्रमण, धम्की र अवरोधका घटनाहरूप्रति यो सम्मेलन आपत्ती प्रकट गर्दछ । साथै पत्रकारको भौतिक सुरक्षा, निर्वाध आवागमन र स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण बनाउन आन्दोलनकारी र राज्य पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

६) तराई मधेशमा जारी आन्दोलनको संवेदनशीलता बुझ्न सो क्षेत्रको स्थलगत अवलोकन र  प्रत्यक्ष संवाद जरूरी छ । यस सन्दर्भमा तराई मधेश क्षेत्रमा स्थलगत भ्रमण, रिपोर्टिङ र प्रत्यक्ष अन्तरक्रिया गर्नु सान्दर्भिक हुने भएकोले यो सम्मेलन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, वरिष्ठ पत्रकार तथा राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकहरूलाई तराई मधेशमा स्थलगत अध्ययन भ्रमण गरी यथार्थ विवरण सार्वजनिक गर्नका लागि हार्दिक आग्रह गर्दछ । साथै हामी आन्दोलनको नेतृत्व तहलाई त्यसका लागि वातावरण सहज बनाउन र सहयोग गर्न आग्रह गर्दछौं ।

७) तराई मधेश आन्दोलनका क्रममा आक्रमणमा परेर घाइते भएका सञ्चारकर्मीहरुको उपचार व्यवस्था, सञ्चारकर्मी र सञ्चारमाध्यमको भौतिक क्षतिको क्षतिपूर्ति र पत्रकार लक्षित आक्रमणमा संलग्नमाथि कानुनी कारवाहीका लागि यो सम्मेलन सरकारसँग माग गर्दछ ।

८) बिभिन्न खालका समस्यामा पिल्सिदै आएका तराई मधेशका मिडियाहरू अहिले असुरक्षा र अभावको थप पीडामा छन् । कच्चा पदार्थ, सञ्चालन सामग्रीको अभाव र विज्ञापनको न्यूनताले तराई मधेशका मिडियाको प्रकाशन प्रसारणमा गम्भीर असर परिरहेको छ । यसर्थ अभाव र असुरक्षा हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ र पत्रपत्रिकाको वर्गीकरणको समयसीमा एवं मूल्यांकन प्रणालीलाई लचिलो बनाउन पनि प्रेस काउन्सिलको यो सम्मेलन ध्यानाकर्षण गराउँदछ ।

९) नाकाबन्दी तथा आन्दोलनका कारण मुलुकमा विद्यमान संकटका कारण मिडिया उद्योग धराशयी बन्दै गएकोमा सम्मेलनले चिन्ता व्यक्त गरेको छ तर यही बहानामा कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निश्कासन गर्ने, करार अवधि नवीकरण नगर्ने, समयमै पारिश्रमिक भुक्तानी नगर्ने, सुविधाहरुमा कटौती गर्ने जस्ता कार्यहरु गरेकोमा आपत्ती जनाउँदै सम्मेलनले त्यस्ता कार्यहरु नगर्न सञ्चारमाध्यम व्यवस्थापनलाई अपील गर्दछ ।

१०) राजनीतिक आस्था, समुदाय, भूगोल वा अन्य कुनै पनि आधारमा नेपाली पत्रकारिता र पत्रकारबीच विभेद र विभाजन हुनुहुँदैन । यो सम्मेलनमा सहभागी तराई मधेश क्षेत्रका हामी सहभागीहरू आपसी मित्रता, विश्वास र सहकार्यको भावनाका साथ विद्यमान समस्याको समाधान र मुलुकको सम्मृद्धि एवं पत्रकारिताको विकासमा एकताबद्ध भएर क्रियाशील हुन सम्पूर्ण पत्रकारहरूलाई अपिल गर्दछौं ।

११) आन्दोलनको बिशिष्ट परिस्थितिमा सार्वजनिक निकायबाट प्रदान गरिने सूचना सञ्चारमाध्याममा उचित समयमा प्रभावकारी ढंगले प्रवाह हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।

१२) सामाजिक सञ्जालबाट जारी हुने सन्देशले व्यापक रुपमा गम्भीर प्रभाव पार्ने भएकोले यस्ता माध्यामको प्रयोग गर्दा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने खालका समाचार तथा सन्देश मात्र प्रवाह गर्न आमसञ्चारकर्मीसहित सबैलाई आग्रह गर्दछ ।

१३) नारायणी नदीको किनारमा रहेको सुन्दर पर्यटकीय गाउँ अमलटारी होमस्टेमा तराई–मधेश मिडिया सम्मेलनको संयोजन र व्यवस्थापन गर्ने नेपाल पत्रकार महासंघ नवलपरासी शाखा र हामेस्टेमा न्यानो स्वागत तथा आतिथ्यता प्रदान गर्ने स्थानीय अमलटारी मध्यवर्ती होमस्टे समिति र थारु समुदायलाई यो सम्मेलन हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यो सम्मेलन अमलटारी मध्यवर्ती होमस्टेसहित नवलपरासी जिल्लाको पर्यटकीय विकासमा उचित ध्यान दिन यो सम्मेलन स्थानीय प्रशासन र सरकारसँग हार्दिक आग्रह समेत गर्दछ ।

(नोटः पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यका साथै तराई मधेशका २२ जिल्लाका शाखा अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो । )

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments