Press Statement

सन् २०१५ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था

01 Jan, 2016

सन् २०१५ नेपाली पत्रकारिताको निम्ति खासै उत्साहजनक रहेन । भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा नराम्रोसँग पर्यो । २०१५ अप्रिल २५ र मे १२ (बैशाख १२ र २९ गते) गएका भूकम्पका कारण १,८१३ जना पत्रकार र सञ्चार गृहहरु प्रभावित भए । गोरखापत्रमा आवद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आवद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगञ्जबाट प्रकाशित दैनिक नेपालगञ्जको व्यवस्थापनमा आवद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो । भूकम्पबाटै ३५ जना पत्रकारले नजिकको आफन्त गुमाउनु पर्यो । त्यसैगरी १४ जना पत्रकार आफै घाइते भएभने २० जनाका आफन्त घाइते भए । भूकम्पले २६६ सञ्चार गृहमा भौतिक क्षती पुर्यायो । १,१५८ पत्रकारका घर पूर्णरुपमा नष्ट भयो भने धेरै पत्रकारको घरमा क्षति पुग्यो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा १,६१८ पत्रकार तथा सञ्चार गृह प्रभावित रहे ।

यति ठूलो प्रभावका बावजुद पनि भूकम्पका बेला नेपाली सञ्चार जगतले देखाएको कौशलको सबैतिर प्रशंसा भयो । केही सानातिना घटना छोड्ने हो भने त्यो बेला नेपाली पत्रकार तथा सञ्चार संस्थाहरुले सन्तुलित र सौम्य रिपोर्टिङ गरी आमजनतालाई अझै बढी त्रसित हुनबाट जोगाए । जुनबेला केही विदेशी मिडियाले नेपालको भूकम्पलाई सनसनीखेज रुपमा प्रस्तुत गरेर आलोचनाका शिकार भइरहेको थिए, त्यस बखत नेपाली पत्रकारिता क्षेत्रले आफूलाई उदाहरणका रुपमा प्रस्तुत ग¥यो । आफूमाथि परेको पीडालाई बिर्सँदै नेपाली पत्रकार तथा सञ्चार संस्थाहरुले आमजनतालाई सुसुचित गर्ने आफ्नो कर्तव्यलाई कुशलतापूर्वक निर्वाह गरे । त्यसबेला एकअर्काप्रति सहयोगको भावना र उद्धार तथा राहतकार्यमा नेपाली मिडिया क्षेत्रको सहभागीता प्रशंसायोग्य रह्यो । नेपाल पत्रकार महासंघले भूकम्प लगायत प्रभावित सवै जिल्लाको स्थलगत भ्रमण गर्नुका साथै पीडित पत्रकारको उद्धार र सक्दो राहत वितरण गर्यो ।

यही वर्ष संविधानसभाबाट संविधान जारी भयो । संविधानका केही प्रावधानले भावी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने संभावनाप्रति सजग रहँदै र त्यसमा संशोधनको पहल जारी राख्दै महासंघले संविधानको स्वागत ग¥यो । संविधान जारी हुने क्रम र तत्पश्चात प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा तीब्र वृद्धि हुनु थप चिन्ताको विषय बनेको छ ।

सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १३६ घटना भए । जसमध्ये करिब ८५ प्रतिशत (११४ वटा) घटना पछिल्लो मधेश आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरुमाथि आक्रमणका ३३ वटा घटना भए भने दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भए । त्यसैगरी ४ वटा सञ्चार गृहमा भौतिक आक्रमणका घटना भए । त्यसैगरी यो वर्ष ५ पत्रकारमाथि मानसिक यातनका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण भए भने १३ जना आफ्नो पेशाबाट वञ्चित गरिए । यस वर्ष देशभर भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरुलाई तालिकागत रुपमा निम्नअनुसार हेर्न सकिन्छ । त्यसैगरी काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ वटा घटना पनि यो वर्ष नेपाली सञ्चार जगतले बेहोर्नु पर्यो ।

घटनाको प्रकार संख्या

  • शङ्कस्पद मृत्यु – १
  • भबितब्य मृत्यु – ३
  • मानसिक यातना – ५
  • ज्यान मार्ने प्रयास – १२
  • आक्रमण र घाइते – २०
  • विस्थापन – १
  • ज्यान लिने धम्की – ११
  • संचारमाध्यममाथि आरोप – २
  • दुव्र्यवहार – ३१
  • पेसाबाट बन्चित – १३
  • भौतिक सामाग्रीको क्षती – ३
  • आगजनी – ४
  • वितरणमा बाधा – १२
  • काममा बाधा – १०
  • सार्बजनिक धम्की – १
  • पक्राउ – २
  • कब्जा – ५
  • कुल – १३६

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले वर्ष २०१५ नेपाली सञ्चार क्षेत्रका लागि धेरै सन्दर्भमा दुःखद् र चुनौतीपूर्ण रहेपनि महासंघ र मिडिया जगतले त्यसको सामना गर्दै अघि बढेको तथा कतिपय महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उल्लेख गर्नुभएको छ । प्राकृतिक विपत्तिबाट तीन जना सञ्चारर्मी र शंकास्पद दुर्घटनामा अर्का एक जना पत्रकार गरी चार जनाको जीवन गुमेको, आन्दोलनको बेला पत्रकारमाथिका आक्रमण बढेका तर दण्डहीनताको अवस्था कायमै रहेको, स्वनियन्त्रण (सेल्फसेन्सरसीप) जारी रहेको, श्रमजीवी पत्रकार ऐनको उल्लंघन भैरहेको जस्ता दुःखद र अनपेक्षित अवस्थाको सामना गर्नु परेको उल्लेख गर्दै उहाँले पत्रकार बीमाको सुरुवातदेखि अन्य थुप्रै सकारात्मक पहल पनि यो अवधिमा भएको जनाउनुभएको छ ।

नयाँ वर्ष सन् २०१६ नयाँ अवसरका रुपमा आएको उल्लेख गर्दै अध्यक्ष विष्टले यो वर्ष नेपाली पत्रकारिता र सिंगो मुलुकका लागि सुखद् हुने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments