Press Statement
दण्डहीनताको अन्त्यका लागि विश्वभर हुने सबैखाले अभियानमा महासंघकाे ऐक्यवद्धता
02 Nov, 2018आज नोवेम्बर २ विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस । पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्ने उद्देश्यकासाथ यो दिवसलाई विश्वभरका पत्रकारले मनाउने गरेका छन् ।
यस अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले पत्रकारका हत्यारालाई कारबाही गर्न आफ्ना सदस्य राष्ट्रहरुलाई आग्रह गर्न संयुक्त राष्ट्रसंघलाई आहृवान गरेको छ । पछिल्लो समय विश्वमा पनि पत्रकारको हत्या हुने क्रम बढ्दो छ । पत्रकारका हत्यारालाई दण्ड दिने प्रथा प्रभावकारी नहुँदा विश्वमा पत्रकारको हत्या हुने क्रम रोकिएको छैन । आइएफजेका अनुसार विश्वमा हत्या भएका ९० प्रतिशत पत्रकारले न्याय नपाएको जनाइएको छ ।
नेपालको सन्दर्भमा पनि पत्रकारका हत्यारालाई कारबाही गरी पीडितले न्याय पाएको घटना न्यून रहेको छ । कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई प्रश्रय दिने गरेको तथा कारबाही नगर्न दबाब दिने गरेको कारण राज्य पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने पक्षमा गम्भीर भएको पाइदैन । जसले गर्दा दण्डहीनता बढिरहेको छ भने पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका छन् ।
नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइका अनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३६ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकार वेपत्ता अवस्थामा छन् । मारिएका ३६ जना पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने अन्यको हकमा अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न सकेको छैन । वेपत्ता भएका ५ जना पत्रकारको अवस्थाका सन्दर्भमा पनि पीडित पक्षले न्याय पाएको छैन ।
यसैगरी पछिल्लो दश वर्षको अवधिमा १ हजार ८ सय ७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भएका छन् । एकाध घटनाबाहेक अन्य घटनाका दोषीमाथि कुनै पनि कानुनी कारबाही भएको छैन । धेरै जसो घटनाहरु आपसी समझदारीमा टुंग्याउने गरेको पाइन्छ भने कतिपय घटनामा संलग्नको पहिचान हुँदा पनि दोषीलाई दण्ड दिने कामलाई प्रभावकारी ढंगबाट कार्यान्वयन नगरिदा पत्रकार तथा सञ्चारमाध्यममाथि हुने प्रेस स्वतन्त्रता हनन्का घटना बढेको पाइन्छ ।
पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाउन महासंघ सरकारलगायत सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दछ ।
साथै, दण्डहीनताको अन्त्यका लागि विश्वभर हुने सबैखाले अभियानमा महासंघ ऐक्यवद्धता प्रकट गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download